काठमाडौं । लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
उपचुनावमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।
दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।
यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् । उनिहरुलाई हिजो निर्वाचन आयोगले मताधिकार दिएको हो । जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले हिजो मतदानको अधिकारको निर्णय गरेको हो । यसअघि आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा उनीहरुको नाम थिएन ।
यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । यस्तै पालिकाका प्रमुख–उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी दुई सय १७ जना मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनका लागि सबै मतदाताको कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगरेकाहरुका लागि मतदानस्थलमै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनु भयो ।
घोराहीमा रहेको कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचन हुने छ । प्रत्येक मतदान केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित ११ जनाका दरले कर्मचारी खटाइने भएको छ ।