काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकार जान खोज्नु ‘अराजनीतिक झेली’ भएको टिप्पणी गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताउनुभएको हो ।
आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै प्रभानमन्त्री ओलीले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गर्नुभयो । आफुले सांसदहरुको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरुले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको बताउनुभयो ।
उहाँले पहिलो पटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेयरिस्त पनि प्रस्तुत गर्नुभयो । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दावी गर्नुभयो ।
विगत ३ बर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेको, संविधान पुर्ण रुपमा कार्यान्वयनमा आएको, संघीयताले स्थायीत्व प्रदान गरेको, लामो सयम देखि रिक्त संबैधानिक निकायहरुले पुर्णता पाएको, हिंसाको बाटो हिडेको समुह शान्ति प्रक्रियामा आएको, मुलुक हिंसात्मक द्धन्दबाट मुक्तहुनुको साथै पृथकतावादी गतिविधिको पनि अन्त्य हुनु यस कालखण्डको महत्वपुर्ण उपलब्धिको रुपमा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।
उहाँले भौतिक पुर्वाधार, सडक ,पुल निर्माण , खानेपानी, भुकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्वीक संरचनाको पुननिर्माण गर्ने काम भएको, सुरक्षित आवास निर्माण, सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरि काम सुरु भएको लगायतका कामहरुको विवरण नै प्रस्तुत गर्नुभयो ।