काठमाडौं । एमालेको साधारणा सदस्यबाट समेत निष्कासित भएका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललागयतका नेताहरू नयाँ पार्टी गठनको गृह कार्यमा लागेका छन् । त्यसका लागि आन्तरिक छलफल तीव्र पारेको सो समूहले आफू निकटका कानून व्यवसायीहरूसँग नयाँ पार्टी दर्तालगायतका विषयमा आन्तरिक छलफल शुरू गरेको छ ।
उनका अनुसार पार्टीको केन्द्रीय कमिटी गठनको तयारी भएको छ । केन्द्रीय कमिटी गठन र पार्टी दर्ता सकिए लगत्तै नयाँ पार्टी घोषणा हुनेछ । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापनामा हस्ताक्षर गरेका नेपाल–खनालसहितका ११ सांसदलाई पार्टी गतिविधिविरुद्ध लागेको आरोपमा एमाले स्थायी कमिटी बैठकले सोमबार साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको छ ।
निष्कासित गरिएकाहरूमा नेपाल–खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु छन् । देउवाको पक्षमा लागेका अरू १२ सांसदलाई पनि २४ घण्टे प्रष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण मागिएमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दीपक प्रकाश भट्ट, नारायण र विरोध खतिवडा छन् । तर ती नेताहरूले पनि जवाफ नदिने खतिवडाले बताउनु भयो ।