काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ । दिउँसो ३ बजेसम्म हुने मतदानमा गृहमन्त्रीसमेत रहनु भएका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
तर धेरैको चासोको केन्द्रमा भने थापा र देवकोटा छन् । पार्टीको विवाद मत्थर हुनेतर्फ अग्रसर भइरहँदा एमालेका जनप्रतिनिधिले देवकोटालाई मत दिन्छन् या थापालाई भन्ने विषय अन्योलमा छ । एमालेकै मत निर्णायक समेत रहेकाले धेरैको चासोको केन्द्रमा थापा र देवकोटामा नै छ ।
पार्टीभित्र पूरै सहमति भइनसकेकाले एमालेको नेपाल–खनाल समूहले थापालाई मत दिने सम्भावना कम छ । तथापि यो बीचमा थापा स्वयमले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर मतका लागि अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई मदान गर्ने निर्णय गरेको छ । एमालेका उम्मेदवार थापाका पक्षमा मतदान गर्न राप्रपाले मतदातालाई विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन पनि अनुरोध गरेको छ । हेटौँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ ।
यस्तै, उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।