काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव बिहिबार मात्रै पेस हुने भएको छ । विधान प्रस्ताव पेस भएपछि विहिबारबाटै प्रस्तावमाथि छलफल प्रारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माकाअनुसार बुधबार (आज)को केन्द्रीय समितिको बैठकले विधान मस्यौदालाई अन्तिम टुंगोमा पुर्याउने र बैठकले विधान पारित गरेपछि छपाइका लागि प्रेसमा पठाईनेछ । छापिएर आएपछि विहिबार महासमितिमा पेस गरेर विधान प्रस्तावमाथि विहिबारबाटै छलफल सुरु हुने उहाँले बताउनुभयो ।
कांग्रेसको महासमिति बैठक विहिबारबाट पार्टी केन्द्रीय कार्यालय सानोपामा बस्ने र बैठक पुस ६ गते अपरान्हसम्म चल्ने पार्टी प्रवक्ता शर्माले जानकारी दिनुभयो । यसअघि मंसिर २९ गते उद्घाटन भएको कांग्रेस महासमिति बैठक पुस ४ गते समापन हुने कार्यक्रम थियो ।
सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधानमा सहमति जुट्न ढिलाइ हुँदा महासमिति बैठक लम्बिएको हो । पुस १ गतेबाट सुरु भएको महासमितिको बन्द सत्रमा अहिलेसम्म १४७ जना महासमिति सदस्यहरुले विधान प्रस्ताव बाहेकका प्रतिवेदनहरुमा केन्द्रित रहेर धारणा राखिसकेका छन् ।
बाँकी सदस्यहरुले पनि आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता शर्माले बताउनुभयो । संस्थापन पक्ष र इतर पक्षबीच विधान संसोधन मस्यौदामा मंगलबार साँझ सहमति जटेको छ ।
सहमतिअनुसार कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र दुई सहमहामन्त्री निर्वाचनबाट चुनिनेछन् । एक कोषाध्यक्ष र प्रवक्ता भने सभापतिले मनोनित गर्न पाउनेछन् ।
यसअघि संस्थापन र इतर पक्षबीच पदाधिकारीको संख्या र चयन प्रक्रियामा विमिती रहँदै आएको थियो ।