काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा देउवाले यसबीचमा प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराउनुभएको थियो । माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत रहेको महतले बताउनुभयो ।
यसअघि आजै देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल सँग पनि छलफल गर्नुभएको थियो । यता एमाले माधव नेपाल पक्ष पनि नयाँ सरकार गठनका लागि आन्तरिक छलफलमा जुटेको छ ।
गण्डकी
गण्डकी प्रदेशमा निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई साथ नदिने हुनुभएको छ । हिजो हस्ताक्षर गर्न नमान्नुभएका थापाले आज पनि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।
आज दिनभरी प्रदेशसभा सचिवालयमा रहेका कांग्रेस, माओवादी र जसपाका सांसद थापा नमानेपछि घर फर्किएका छन् । वैशाख २६ मा पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि सोहीदिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिनुभएको थियो । नयाँ सरकार गठनको लागि गठबन्धनले ३१ जनाको हस्ताक्षर पु¥याउनुपर्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् । राजमोका ३ सांसद छन् ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका कांग्रेस, माओवादी र जसपाका सांसदले बहुमतको (३१) हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । नयाँ सरकार गठनको लागि राजमोले साथ दिएको छ । सचेतक पियारी थापाले हिजो दुवै जना सांसदलाई नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न ह्वीप जारी गर्नुभएको थियो ।
तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नु हुनेछ । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।