काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने घोषणा गर्नुभएको छ ।
पुनर्निर्मित धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उहाँले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताउनु भएको हो ।
धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उहाँको भनाइ छ । यस्तै, उहाँले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गर्नु भएको छ ।
यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताउनु भएको छ । प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको पनि बताउनुभएको छ ।
उहाँले नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिनुभएको छ ।
यसैवीच काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आज एक ऐतिहासिक काम सम्पन्न भएको बताउनुभएको छ । पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताउनुभयो ।
उहाँले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गर्नुभएको छ ।