प्रतिनिधिसभाको आजको बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
पूर्व मन्त्रीसमते रहनुभएका प्रधानाङ्गको चैत २० गते शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति बैठकले दुःख व्यक्त गरेको छ । बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरुले सरकारको कामको प्रशंसा र विरोध गर्नुभएको छ । सरकारको नेतृत्व गरेको दलका सांसदहरुले सरकारी कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदहरुले विरोध गर्नुभएको छ ।
यस्तै, एमाले सांसद खगराज अधिकारीले संसद बैठकमा नेकपा (एमाले) को रुपमा प्रस्तुत हुने व्यवस्था नभएको बताउनुभयो । नेकपामा रहेका दुई पार्टी अलग अलग भए पनि संसद समितिमा अझै नेकपाको रुपमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै उहाँले संसदीय समितिमा एमालेको रुपमा प्रतिनिधित्वको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
आफूहरु संवैधानिक र नियमावलीसम्मत काम गर्न चाहे पनि त्यस्तो वातावरण नबनेको भन्दै उहाँले सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसको जवाफमा सभामुख सापकोटाले प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत समितिमा दलीयरुपमा सांसदहरुको प्रतिनिधित्व गर्ने नामावली प्राप्त भएमा कार्य व्यवस्था समिति बैठकमा छलफल भएको र नामावली प्राप्त भएमा सोहीअनुसार समितिमा हेरफेर गरिने उहाँले जानकारी गराउनुभयो ।
यसैबीच, बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको जस्तो विकास निर्माणको काम नभएको बताउनुभयो । २०७५ असोजसम्म मेलम्चीको पानी ल्याउने प्रतिबद्धता सरकारले गरे पनि २०७७ चैतमा आएको उहाँले टिप्पणी गर्नुभयो । आयोजना ढिलो सम्पन्न हुँदा व्ययभार बढ्ने गरेको उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले चुनावी घोषणापत्रमा गरिएको प्रतिबद्धताअनुसार काम नभएको टिप्पणी गर्नुभएको छ । विकास र समृद्धिमा प्रवेश गरेको नेपाललाई सुशासनमा लग्न नसकिएको बताउनुभयो ।
बैठकमा सांसद शान्ता चौधरीले सरकारले विकासको काम गर्दा पनि विकास विरोधीले विरोध गरेको देख्दा अचम्म लागेको बताउनुभयो । विकासप्रेमीहरु विकास पाएर खुशीले गदगद भए पनि विरोधीहरु त्यसको विरोध गरिरहेको उहाँले चर्चा गर्नुभयो ।
यसैगरी, सांसद महेश बस्नेतले संसद बैठकमा अस्वस्थ बहस भइरहेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको राजीनामा जबर्जस्ती माग्ने काम भइरहेको बताउनुभयो । सांसद बस्नेतले राजनीतिलाई अस्वस्थ बनाउने प्रयास नगर्न आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षीदल काँग्रेसले संसद बैठकमा बलहठ देखाइरहेको उहाँले टिप्पणी समेतच गर्नुभयो ।
यसैबीच, बैठकमा सांसद लालबाबु पण्डित, लालकाजी गुरुङ, सांसद लालबहादुर थापा, सांसद विमला विश्वकर्मा, सांसद सत्यनारायण शर्मा खनाल, सांसद सत्या पहाडी, सांसद लीलादेवी सिटौला, सांसद प्रेम सुवाल, सांसद राजेन्द्रप्रसाद गौतम, मोहनप्रसाद पाण्डे, सांसद आशाकुमारी विक लगायतले जनताको समस्या र समाधानका विषयमा धारणा राख्नुभएको थियो ।
बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेसी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६÷७७ र थारु आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६÷७७ बैठकमा पेश गर्नुभएको छ ।