नेकपा एमालेको माधव–झलनाथ समूहले भोली र पर्सी हुने राष्ट्रिय कार्यकर्ता भेला सफल हुने दावी गरेको छ ।
कार्यकर्ता भेलाबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय र पार्टीलाई गुटमा सीमित गर्ने क्रियाकलापको विरुद्ध रणनीति बनाउन भोलि र पर्सि कार्यकर्ता भेला हुन लागेको जानकारी दिनुभयो ।
गएको फागुन २३ गते सर्वोच्च अदालतले एमाले पार्टी बिउँताए पनि ओलीले त्यसलाई कार्यान्वयन गर्न आनाकानी गरेको माधव–झलनाथ समूहले आरोप लगाएको छ । नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनर्स्थापना गर्नुपर्नेमा आफूखुसी बैठकका नाममा गुटका गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेको माधव–झलनाथ समूहको निष्कर्ष छ ।
केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको पनि समूहको ठहर छ ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, केन्द्रीय कमिटीका पूर्वसदस्यहरू, सङ्घ तथा प्रदेशका सांसदहरू, पूर्वसांसदहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, सम्पर्क कमिटी र मञ्चका सदस्यहरूको सहभागिता रहनेछ ।