काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा गएमा गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई कारबाहीको निर्णय हुने भएको छ । शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ‘आफ्नो पोजिसन क्लियर गर्न’ बसेर २४ घन्टे अल्टिमेटम दिएको थियो । उक्त २४ घण्टे अल्मिटेमको अवधि सकिएको हो।
आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै छ । उक्त बैठकले २३ जनालाई पार्टीबाट निष्काशन गर्नेदेखि सांसद रहेका चारजनाको पद नै खारेज गर्ने निर्णय लिने भएको विषयमा छलफल हुने स्थायी कमिटी सदस्य लिलामणि पोख्रेलले जानकारी दिएका छन् । उनले भने, “शनिबार दिइएको २४ घण्टाको अवधिमा २३ जनामध्ये कसैले पनि माओवादी केन्द्रमा फर्कने जवाफ दिनु भएको छैन । त्यसैकारण शनिबारको निर्णय अनुसार नै आज कारबाही प्रक्रिया अघि बढ्छ ।”
मन्त्री भएका ६ जनाले नै यसअघि माओवादी केन्द्रमा नफर्किने सञ्चारमाध्यमहरुमार्फत घोषणा गरिसकेका छन् । जसमध्ये ३ जना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसद छन् । दल त्याग गरेकाहरुको सांसद पद स्वतः खारेज हुन्छ । माओवादी केन्द्रबाट बादलका अलावा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी सांसद छन् । जसमध्ये बादल, थापा भट्ट, थारु र लामा मन्त्री छन् । मन्त्री भएका उनीहरुले दल त्याग गरेको आधिकारिक जवाफपछि माओवादी केन्द्रले स्वतः सांसद पद खारेज गर्न पत्र लेख्न सक्छ । उनीहरुको सांसद पद नै खारेज हुने कानुनी व्यवस्था छ ।
शुक्रबार नेकपा एमालेको ओली समूहको बैठकले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य बनाएको थियो । बादलले बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका थिए भने लेखराज भट्टले सुदूरपश्चिम र मणि थापाले कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थिए ।
यसअघि थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।