नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको शुक्रबारको निर्णयलाई चुनौती दिँदै समानान्तर संरचना बनाएको छ । नेपाल समूहको आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर संरचना बनाएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्त रसंरचना खडा गरिएको हो ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्जसहित पार्टी कामको संयोजन गर्ने भनेर समानान्तर जिम्मेवारी तोकेको हो ।
प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ ।
युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।
यसैबीच, नेता नेपालले हिम्मतका साथ अगाडि बढनुपर्ने समय आएको बताउनुभएको छ । अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउनसक्ने भन्दै उहाँले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।