काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ । बैठक चैत १ गते धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । सर्वोच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो बैठक बस्न लागेको हो । यसअघि सर्वोच्चले एमाले पुनर्स्थापित गरेलगत्तै बस्ने भनिएको स्थायी कमिटी बैठक पर्याप्त तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
एमाले ब्युँतिएपछि पनि पार्टीका नेताहरुबीच छलफल भने हुन सकेको छैन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ । यसअघि गुटगत भेला भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
दुई सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली समूहको स्पष्ट बहुमत छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा यसअघि रहेको नेकपाको बोर्ड हटाएर केही दिनअघि नै एमालेले आफ्नो साइनबोर्ड राखिसकेको छ ।