प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज तीन वर्ष पूरा गरेको छ । गत २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्री ओलीको दावी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ ।
यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ । तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन । रेल, पानीजहाज लगायतका महत्वाकांक्षी योजनाहरु घोषणामै सीमित छन् । तै पनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ ।
यसबीचमा सडक निर्माणको कामलाई लिएर भने नागरिकले पनि सरकारको प्रशंसा गरेका छन् । नियमित काम नै भए पनि सडक विस्तार तथा सुधारको काम राम्रो भएको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले बताउनुभयो । तर गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलन गरेर बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिने जनाइएको छ ।
पत्रकार सम्मेलनअघि १० बजे प्रधानमन्त्री ओलीले २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ । सिहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको छ ।
भूकम्पले क्षति गर्नुअघि प्रधानमन्त्री कार्यालय सोही भवनमा रहेको थियो । भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रैको अन्य भवनमा सरेको थियो । आज उद्घाटनपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारबाट सञ्चालनमा आउनेछ ।