काठमाडौं । नेकपा दाहाल र नेपाल पक्षले आज उपत्यकाका विभिन्न स्थानमा गर्ने शक्ति प्रदर्शनका कारण ट्राफिक समस्या हुने देखिएको छ ।
नेकपा केन्द्रीय समितिको कार्यालयले एक सूचना जारी गर्दै वृहत् विरोध प्रदर्शनको मूल जुलुस र सहायक जुलुस हुने स्थानको बारेमा जानकारी दिएसँगै ती ठाउँमा केही समय सडक अवरुद्ध हुनसक्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
११ बजेबाट सुरू हुने उक्त प्रदर्शनबाट सडक केही समय अवरुद्ध हुन सक्ने बताइएको छ । उक्त प्रदर्शन सुन्धारमा आएर मूल जुलुसमा परिणत हुने जनाइएको छ । पुल्चोक,कुपण्डोल,थापाथली,त्रिपुरेश्वर,माइतिघर क्षेत्रमा केही ट्राफिक समस्या हुनसक्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
यसैगरी केशरमहल, दरबारमार्ग, तीनधारा, पाठशाला, जमल, कमलादी,असन, इन्द्रचोक, जुद्ध शालिक, न्युरोडमा पनि सडक केही समयका लागि अवरूद्ध हुनसक्ने महाशाखाले बताएको छ ।
१२ बजे सुरु हुने मूल जुलुस भने सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग हुँदै सभा स्थल प्रवेश गर्ने भएकाले त्यहाँका सडकसमेत अवरूद्ध हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।