काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह आज (शुक्रबार) जुलुससहित श्रद्धाञ्जली सभा आयोजना गर्दैछ । प्रचण्ड–नेपाल समूह सहिद दिवसको अवसर पारेर शान्तिवाटिकामा जुलुससहित श्रद्धाञ्जली सभा आयोजना गरेर सहिद दिवस मनाउने भएको हो ।
माघ १२ गते सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत सहिद दिवसमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिन लागेको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएको छ । माघ २१ गतेसम्म चल्ने धर्नामा विघटित प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभाका सदस्यहरु सहभागी हुँदै आएका छन् ।
प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत माघ २८ गते संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ । संसद् विघटनको विरोधमा घोषणा गरिएको दोस्रो चरणको आन्दोलनअन्तर्गत प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो।