काठमाडौं । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ धादिङ पुगेको छ ।
गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा नेपाली सेनाको देवीदत्त गण धादिङलाई हस्तान्तरण गरेको छ । बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ ।
चरङ्गेको शान्तिकालीका आधारभूत विद्यालयमा पुगेपछि स्थानीयबासिन्दा र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ ।
दीप र झण्डासहित काठमाण्डौको पल्टन आउँदो २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने सेनाले जनाएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाण्डौसम्म पदमार्गको दूरी २६ कोश छ ।
पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि.सं. १८२५ मा काठमाण्डौ राज्य जितेको र त्यस क्रममा दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौसम्म ओहोरदोहोर गरेको इतिहास छ ।