काठमाडौं । नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।
विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको छ भने काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रसँगै नेपालगञ्ज, महेन्द्रनगर, दाङ, हेटौँडा, धनकुटा, भरतपुर लगायतका ठाउँमा रहेका मापन केन्द्रले रातो सङ्केत दिएर स्वास्थ्यका लागि खतरापूर्ण अवस्था रहेको बताएका छन् ।
मापन केन्द्रहरूले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वा दुई सयभन्दा बढी भएमा बैजनी रङ्ग देखाएर अत्यन्तै अस्वस्थ रहेको सङ्केत गर्छन् भने एक सय ५० देखि दुई सयको बीचमा भएमा रातो रङ्ग देखाएर खतरापूर्ण रहेको सङ्केत गर्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । तर अहिले देशका सबैजसो मापन केन्द्रमा अक्वा एक सयभन्दा उकालो लागेको छ । फोक्सोको रोग, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएको चिकित्सक बताउँछन् ।
मौसमी अवस्था, विभिन्न ठाउँमा बालिने आगो, सवारी साधनबाट निस्कने धुवाँ तथा उद्योगलगायतका कारण वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।