काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ। मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजरले प्रेम, धोका र वियोगको कथातर्फ संकेत गरेको छ।
सार्वजनिक टिजरको सुरुवात गाउँमा कटुवालले सूचना सुनाएको दृश्यबाट हुन्छ। त्यसपछि विजय बराल र अञ्जना बराइली बिहेको रात एकअर्कासँग प्रेमिल संवाद गरिरहेको देखिन्छन्। तर, त्यसपछिका दृश्यले उनीहरूको सम्बन्धमा ठूलो दरार आएको संकेत गर्छन्।
टिजरमा अञ्जना कपडा बोकेर विनोद न्यौपानेसँग हिँडिरहेको दृश्य देखिन्छ। अन्तिमतिर अञ्जना डाको छोडेर रोइरहेकी छन् भने विजय पनि भावुक अवस्थामा देखिन्छन्। यी दृश्यले फिल्ममा नवदाम्पत्य सम्बन्धको उतारचढावसँगै प्रेम, धोका र बिछोडको कथा समेटिएको अनुमान गर्न सकिन्छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता नेम महर्जन हुन्।
निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत र स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी छ। फिल्मको रंग संयोजन सुप्रिम पराजुलीले गरेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन्।