काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सको यात्रा अहिले निरन्तर सफलताको उदाहरण बनेको छ। पहिलो संस्करणमा अंक तालिकाको पुछारमा सीमित भएको लुम्बिनीले दोस्रो संस्करणमा उपाधि जित्यो। तेस्रो संस्करणमा पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै टोली लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ।
पहिलो सिजनको निराशाजनक प्रदर्शनपछि उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले यसपटक पनि आफ्नो लय कायम राखेको हो। खेलाडी छनोटमा निरन्तरता, नेपाली तथा विदेशी खेलाडीबीचको सन्तुलन र सामूहिक प्रदर्शनलाई टोलीको सफलताको मुख्य आधार मानिएको छ।
तेस्रो सिजनको लिग चरणमा लुम्बिनीले सात खेलमध्ये पाँचमा जित निकाल्यो भने एक खेलमा पराजय बेहोर्यो। चितवन राइनोजसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। ११ अंक जोड्दै लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।
पहिलो क्वालिफायरमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो। सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा चार विकेट गुमाएर पूरा गरेको थियो।
लुम्बिनीको जितमा श्रीलंकाली ब्याटर निरोशन डिकवेल्ला नायक बने। उनले ३७ बलमा सात चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन बनाए। उनको संयमित र आक्रामक ब्याटिङले टोलीलाई सहज जित दिलाउँदै फाइनलमा पुर्यायो।
लुम्बिनीको अहिलेको सफलतापछाडि दोस्रो संस्करणको पुनरागमन पनि महत्त्वपूर्ण छ। एनपीएलको पहिलो संस्करणमा सात खेलमध्ये एक खेल मात्रै जितेको लुम्बिनी आठ टोली सहभागी प्रतियोगिताको अन्तिम अर्थात् आठौँ स्थानमा सीमित भएको थियो।
त्यसपछि दोस्रो संस्करणमा टोली निर्माण र खेलाडी छनोटमा विशेष ध्यान दिइयो। कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली खेलाडीको सन्तुलित उपस्थिति र विदेशी खेलाडीको प्रभावकारी भूमिकाले लुम्बिनीको प्रदर्शनमा सुधार ल्यायो।
यद्यपि दोस्रो संस्करणको सुरुवात लुम्बिनीका लागि सहज थिएन। चितवन राइनोजलाई पराजित गर्दै प्रतियोगिता सुरु गरेको टोलीले त्यसपछि लगातार तीन खेलमा हार बेहोर्यो। कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्ससँगको पराजयले टोलीको प्लेअफ सम्भावना कमजोर बनाएको थियो।
तर, त्यसपछि लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्यो। पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सलाई लगातार हराउँदै टोली प्लेअफमा पुग्यो। सात खेलबाट चार जितसहित आठ अंक जोडेको लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो।
त्यसपछि एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले र दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर पहिलोपटक एनपीएलको उपाधि जितेको थियो।
पहिलो संस्करणको अन्तिम स्थानबाट दोस्रो संस्करणको च्याम्पियन बनेको लुम्बिनीले तेस्रो संस्करणमा पनि आफ्नो निरन्तरता प्रमाणित गरेको छ। अब टोलीसामु लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास दोहोर्याउने अवसर छ।
यसपटक फाइनलमा लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने टोलीको भने टुंगो लाग्न बाँकी छ। बुधबार हुने एलिमिनेटरमा बागमती डर्बीको विजेताले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ।