काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, नेपाल-भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले नवनियुक्त राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। साथै, रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूतसँग जानकारी लिएका थिए। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
राजदूत दलेलाका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेका छन्। भ्रमणलाई थप उपलब्धिमूलक बनाउन नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक गृहकार्य तीव्र रूपमा भइरहेको छ।
भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका रूपमा हेरिएको छ। विशेषगरी भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्तामा कुन-कुन विषयले प्राथमिकता पाउँछन् र त्यसबाट द्विपक्षीय सम्बन्धमा कस्तो उपलब्धि हासिल हुन्छ भन्ने चासो बढेको छ।