काठमाडौं । अभिनेत्री पूर्णिका सिजापतिको नयाँ फिल्म तय भएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘आचार्य’बाट अभिनय यात्रा सुरु गरेकी पूर्णिका अब फिल्म ‘हाम्रो सानो घर’मा देखिने भएकी छन् ।
सुमन गजमेरको निर्देशनमा बन्न लागेको फिल्ममा पूर्णिकालाई मुख्य भूमिकाका लागि यसै साता अनुबन्ध गरिएको हो । यद्यपि, फिल्ममा उनको भूमिका कस्तो रहनेछ भन्नेबारे निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन । मोडलिङ क्षेत्रमा परिचित पूर्णिकाले १६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी हुन् । कक्षा ११ मा अध्ययन गर्दै गर्दा मोडलिङमा प्रवेश गरेकी उनले ‘फेस अफ टिन २०२१’ र ‘फेस अफ क्लासिक डायमन्ड २०२४’को उपाधि जितिसकेकी छन् ।
फिल्ममा डेब्यू गर्नुअघि उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी थिइन् । ‘आचार्य’मार्फत ठूलो पर्दामा प्रवेश गरेकी पूर्णिकाले छोटो समयमै अर्को फिल्म हात पारेकी हुन् । ‘हाम्रो सानो घर’को छायांकन भने दशैंपछि सुरु गर्ने तयारी छ । पूर्णिकाबाहेक फिल्मका अन्य कलाकारको टुंगो लागिसकेको छैन । अहिले कलाकारसँगै प्राविधिक छनोटको काम भइरहेको निर्देशक सुमन गजमेरले बताएका छन् ।
निर्देशक गजमेरका अनुसार फिल्ममा जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र जेनजी पुस्ताका आकांक्षालाई कथाको आधार बनाइनेछ । साथै, फिल्ममा दर्शकले फरक स्वादको प्रेमकथा हेर्न पाउने उनको दाबी छ । ‘हाम्रो सानो घर’ सुमन गजमेरको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो । उनले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म लेखन तथा निर्देशनमा स्नातक अध्ययन पूरा गरेका छन् ।
निर्देशनमा डेब्यू गर्न लागे पनि गजमेर नेपाली फिल्म क्षेत्रमा नयाँ नाम भने होइनन् । उनले ‘रंगी’, ‘एक्का तीन स् च्याप्टर १’, ‘शेर्वा’ र ‘भित्ते पात्रो’जस्ता फिल्ममा लेखकका रूपमा काम गरिसकेका छन् । त्यस्तै, ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’मा सहायक निर्देशकका रूपमा समेत काम गरेका छन् ।
अब ‘आचार्य’मार्फत अभिनयमा पाइला चालेकी पूर्णिका र निर्देशनमा डेब्यू गर्न लागेका सुमनको सहकार्यमा बन्ने ‘हाम्रो सानो घर’ले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा भने बाँकी छ ।