एजेन्सी । सात महिनादेखि जारी अमेरिका-इरान युद्ध अन्त्य गर्ने प्रयास फेरि तीव्र भएको छ । दुवै देशका अधिकारीहरूले मध्यस्थकर्ताहरूमार्फत छुट्टाछुट्टै वार्ता सुरु गरेका छन् ।
सेप्टेम्बर २८ मा भएको वार्तामा संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधिले प्रत्यक्ष रूपमा एउटै टेबलमा बसेर संवाद नगरी मध्यस्थकर्तामार्फत आ-आफ्ना धारणा राखेका हुन् । वार्ताको केन्द्रमा इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अघि सारेको परिमार्जित सात दिने युद्धविराम प्रस्ताव रहेको छ ।
इरानले प्रस्तावमा इरान र लेबनानमा जारी सैन्य कारबाही रोक्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको छ । यी सर्त पूरा भए हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र त्यसपछि आणविक कार्यक्रमसम्बन्धी वार्ता अघि बढाउने इरानको प्रस्ताव छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलमार्गमा अवरोध हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर परेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभापछि पनि न्युयोर्कमै रहेका छन् । उनले अमेरिकाको स्पष्ट प्रतिक्रियाको प्रतीक्षा गरिरहेको बताएका छन् । इरानी पक्षले हर्मुज जलमार्ग खुलाउने विषय आफ्ना सर्त पूरा भएको अवस्थामा मात्र सम्भव हुने बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने इरानको पछिल्लो प्रस्ताव अस्वीकार गरिसकेको बताएका छन् । तर, उनले यसै साता थप वार्ता हुन सक्ने संकेत गरेका छन् । यसले प्रत्यक्ष सहमति नबने पनि मध्यस्थकर्तामार्फत कूटनीतिक प्रयास जारी रहने देखिएको छ ।
यसअघि अप्रिल र जुनमा भएका युद्धविराम प्रयासहरू टिक्न सकेका थिएनन् । फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि द्वन्द्व चर्किएको थियो । सात महिनाभन्दा लामो युद्धका कारण ठूलो मानवीय क्षति भएको छ भने हर्मुज जलमार्गमा आएको अवरोधले विश्वव्यापी व्यापार र तेल बजारमा समेत दबाब बढाएको छ ।
अहिलेको वार्तामा युद्धविराम मात्र नभई इरानमाथिका आर्थिक प्रतिबन्ध, रोक्का गरिएका सम्पत्ति, हर्मुज जलमार्ग र इरानको आणविक कार्यक्रमसम्बन्धी विषयसमेत जोडिएका छन् । त्यसैले मध्यस्थकर्ताहरूले दुवै पक्षबीच रहेका प्रमुख मतभेद कम गर्ने प्रयास गरिरहेका छन् ।
तर, अमेरिका र इरानबीचका सर्तमा अझै ठूलो दूरी रहेकाले पछिल्लो वार्ताबाट तत्कालै युद्ध अन्त्यको सहमति हुने अवस्था स्पष्ट भइसकेको छैन । मध्यस्थकर्तामार्फत थप संवाद अघि बढाउने प्रयास भने जारी छ ।