काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं उपत्यकाको अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। राजधानीलाई तराईसँग जोड्ने मुख्य सडकखण्डहरू अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यास, तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या देखिएको हो।
नागढुंगा-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि भारतबाट ग्यास बोकेर आएका बुलेटहरू काठमाडौं प्रवेश गर्न सकेका छैनन्। सडक आयोजनाका अनुसार कृष्णभीर, ज्यामिरेघाट, चौकीभिर, घोप्टेभिर र सिमलधारालगायत १० भन्दा बढी स्थानमा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ। केही स्थानमा भने एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ।
नेपाल आयल निगमका अनुसार बुधबारदेखि नयाँ ग्यास बुलेट काठमाडौं उपत्यका प्रवेश गर्न सकेका छैनन्। अहिले बाटोमै करिब १२५ वटा ग्यास बुलेट रोकिएका छन्। ती बुलेटमा काठमाडौंका लागि तयार करिब डेढ लाख सिलिन्डर बराबरको ग्यास रहेको निगमले जनाएको छ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बाटो खुल्नेबित्तिकै दैनिक ५० देखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने बताएका छन्। उनका अनुसार भारतबाट ग्यास ल्याउने प्रक्रियामा समस्या छैन, मुख्य समस्या काठमाडौं प्रवेश गर्ने सडकमा रहेको छ।
यद्यपि, सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा रहेको मौज्दातबाट ग्यास वितरण भने जारी राखिएको छ। पछिल्ला तीन दिनमा मात्रै उपत्यका र आसपासका जिल्लामा ६३ हजार २५६ सिलिन्डर ग्यास वितरण गरिएको निगमको तथ्यांक छ। निगमले उपभोक्तालाई तत्काल आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। बाटो खुलेपछि रोकिएका ग्यास बुलेटमार्फत आपूर्ति तीव्र बनाउने तयारी रहेको निगमको भनाइ छ।
पेट्रोल, डिजेल र हवाई इन्धनको आपूर्तिमा भने तत्काल समस्या नरहेको निगमले जनाएको छ। थानकोटमा पेट्रोल तथा डिजेलको करिब सातदेखि १० दिनलाई पुग्ने मौज्दात रहेको र हवाई इन्धनसमेत करिब १० दिनका लागि पर्याप्त रहेको बताइएको छ।
ग्यासको आपूर्तिमा भने मुख्य सडक अवरुद्ध हुँदा समस्या बढी देखिने गरेको छ। पेट्रोल र डिजेल वैकल्पिक मार्गबाट तुलनात्मक रूपमा सजिलै ल्याउन सकिए पनि ग्यास ढुवानीका लागि ठूला विशेष बुलेट आवश्यक पर्ने भएकाले साँघुरा र घुम्ती धेरै भएका वैकल्पिक सडक प्रयोग गर्न कठिन हुने निगमले जनाएको छ।
मुख्य सडक लामो समयसम्म बन्द रहेमा ग्यास उद्योगीहरूले विगतमा अपनाएको वैकल्पिक र महँगो ढुवानी प्रक्रिया दोहोर्याउनुपर्ने अवस्था आउन सक्ने देखिएको छ। त्यसैले काठमाडौंको ग्यास आपूर्ति अहिले सडक खुल्ने अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छ।