एजेन्सी । चीनले एकैदिन चारवटा ठूला उच्चगति रेलमार्ग सञ्चालनमा ल्याएको छ । देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रलाई जोड्ने गरी निर्माण गरिएका यी रेलमार्ग सञ्चालनमा आएसँगै चीनको उच्चगति रेल सञ्जाल थप विस्तार भएको छ ।
नयाँ सञ्चालनमा आएका रेलमार्गमा हेबेईको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको सिआनदेखि आनकाङ, हुबेईको यिछाङदेखि सिङसान तथा हेइलोङजियाङको हार्बिनदेखि यिछुनसम्मका खण्ड छन् । ५५२ किलोमिटर लामो स्युङआन-साङछिउ रेलमार्गले हेबेई, शानडोङ र हेनानका विभिन्न शहरलाई जोड्नेछ । यो रेलमार्ग सञ्चालनमा आएपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा समय घटेर करिब २ घण्टा २७ मिनेटमा सीमित हुने बताइएको छ ।
त्यस्तै, १७१ किलोमिटर लामो सिआन-आनकाङ रेलमार्ग छिनलिङ पर्वत पार गर्दै निर्माण गरिएको हो । जटिल भौगोलिक अवस्थाबीच निर्माण गरिएको यो रेलमार्गमा रेलको डिजाइन गति प्रतिघण्टा ३५० किलोमिटर रहेको छ । यसले सिआनदेखि आनकाङसम्मको यात्रा करिब ४५ मिनेटमा सीमित गर्नेछ । यिछाङ-सिङसान रेलमार्ग निर्माणका क्रममा पनि ठूला सुरुङ र पुल निर्माण गरिएको छ । दाबा पर्वत हुँदै अघि बढ्ने यो रेलमार्गमा १६ दशमलव ९ किलोमिटर लामो सुरुङसमेत निर्माण गरिएको छ ।
यसले सांघाई-छोङछिङ-छेङ्दु उच्चगति रेलमार्गलाई छेङ्दु–छोङछिङ उच्चगति रेलमार्गसँग जोड्ने भएकाले याङ्त्से नदी आर्थिक क्षेत्रमा आवागमन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उत्तरी चीनमा सञ्चालनमा आएको हार्बिन-यिछुन रेलमार्ग भने ३१८ किलोमिटर लामो छ । यो चीनमा हालसम्म निर्माण भएको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हो ।
विशेषगरी स्थायी रूपमा जमेको भूभाग अर्थात् पर्माफ्रोस्ट क्षेत्रमा निर्माण गरिएको यो रेलमार्गको यिछुन वेस्ट स्टेसन चीनकै पहिलो पर्माफ्रोस्ट क्षेत्रमा निर्माण गरिएको उच्चगति रेल स्टेशन भवन भएको बताइएको छ । हार्बिन-यिछुन रेलमार्ग सञ्चालनमा आएपछि दुई शहरबीचको यात्रा समय करिब सात घण्टाबाट घटेर दुई घण्टामा झर्नेछ ।
नयाँ रेलमार्गले चीनका प्रमुख शहरसँगै पर्यटकीय क्षेत्रलाई समेत जोड्नेछ । यिछाङको थ्री गर्जेज बाँधदेखि यिछुनका वन क्षेत्रसम्मको पहुँच सहज हुने भएकाले पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । चीनले उच्चगति रेल सञ्जाल विस्तारलाई आफ्नो पूर्वाधार विकासको महत्वपूर्ण आधार बनाउँदै आएको छ ।
सन् २०२५ को अन्त्यसम्म चीनमा सञ्चालनमा रहेको कुल रेलमार्गको लम्बाइ १ लाख ६५ हजार किलोमिटर पुगेको छ । त्यसमध्ये ५० हजार किलोमिटरभन्दा बढी उच्चगति रेलमार्ग रहेका छन् । सन् २०२६ को पहिलो आठ महिनामा मात्रै चीनले रेल क्षेत्रमा ५ खर्ब ११ अर्ब ८० करोड युआन अर्थात् करिब ७५ अर्ब ९० करोड अमेरिकी डलर स्थिर सम्पत्ति लगानी गरेको छ ।
चीनले सन् २०३५ सम्म आफ्नो उच्चगति रेल सञ्जाल ७० हजार किलोमिटर पुर्याउने लक्ष्य राखेको छ । उत्तर-दक्षिणतर्फ आठ तथा पूर्व-पश्चिमतर्फ आठ मुख्य रेलमार्गसहितको सञ्जालले प्रमुख शहर, शहरी समूह र आर्थिक क्षेत्रलाई उच्चगति रेलमार्फत जोड्ने लक्ष्य चीनको छ ।