काठमाडौं । सामाजिक सञ्जाल टिकटकले विज्ञापन निर्माण प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउने उद्देश्यसहित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीले ‘सिम्फनी एजेन्ट’ नामक नयाँ टुल ल्याएको हो, जसले केवल टेक्स्ट प्रम्प्टका आधारमा पूर्ण भिडियो विज्ञापन तयार गर्न सक्ने क्षमता राख्छ।
टिकटकको ‘सिम्फनी क्रिएटिभ स्टुडियो’ भित्र उपलब्ध गराइएको यो नयाँ टुलले प्लेटफर्ममा चलिरहेका ट्रेन्डिङ भिडियो तथा कन्टेन्टहरूको विश्लेषण गरी विज्ञापनदातालाई प्रभावकारी विज्ञापन कसरी बनाउने भन्नेबारे सुझाव दिनेछ। यसले ट्रेन्ड, शैली र दर्शकको रुचिअनुसार उपयुक्त विज्ञापन सामग्री निर्माणमा सहयोग पुर्याउने टिकटकको दाबी छ।
विज्ञापनदाताले आफ्नो उत्पादन वा अभियानसँग सम्बन्धित टेक्स्ट विवरण, तस्बिर वा भिडियो उदाहरणहरू अपलोड गर्न सक्नेछन्। त्यसपछि सिम्फनी एजेन्टले समान प्रकृतिका सफल भिडियोहरूको खोजी गरी तिनको प्रदर्शन र इन्गेजमेन्टसम्बन्धी जानकारी समेत उपलब्ध गराउनेछ। प्रयोगकर्ताले ती उदाहरणहरूको अध्ययन गरेर आफूअनुकूल नयाँ विज्ञापन सामग्री तयार गर्न सक्नेछन्।
टिकटकका अनुसार सिम्फनी एजेन्टले कुनै पूर्व सामग्रीबिनै सुरुदेखि नयाँ भिडियो विज्ञापन निर्माण गर्न पनि सक्षम हुनेछ। प्रयोगकर्ताले अभियानको सामान्य विवरण इनपुट गरेपछि बाइटडान्सको नवीनतम ‘सिडान्स २.०’ एआई मोडल प्रयोग गरी भिडियोका विभिन्न नमुना स्वतः तयार हुनेछन्। यसले क्यामेरा प्रयोग नगरीकनै सम्पूर्ण भिडियो उत्पादन प्रक्रियालाई स्वचालित बनाउनेछ।
यससँगै टिकटकले आफ्नो सिम्फनी प्लेटफर्ममा थप नयाँ सुविधाहरू पनि विस्तार गरेको छ। अब विज्ञापनदाताले स्थिर तस्बिरलाई भिडियोमा रूपान्तरण गर्न, डिजिटल एभटार तयार गर्न, अडियो सामग्री सिर्जना गर्न तथा भिडियोहरूलाई विभिन्न भाषामा अनुवाद र डबिङ गर्न सक्नेछन्।
नयाँ एआई प्रणालीले विज्ञापन अभियानका लागि क्रिएटर ब्रिफ तयार गर्ने, उपयुक्त कन्टेन्ट क्रिएटर पहिचान गर्ने र उनीहरूलाई अभियानमा सहभागी हुन निमन्त्रणा पठाउने क्षमता समेत राख्छ। साथै सुधारिएको सर्च प्रणालीमार्फत ब्रान्डसँग सम्बन्धित पुराना भिडियो तथा कन्टेन्ट खोज्न पनि सहज हुने बताइएको छ।
टिकटकले जापानी विज्ञापन कम्पनी डेन्सुको एआई प्लेटफर्म ‘जोयुमी’सँग सहकार्यको घोषणा पनि गरेको छ। यस सहकार्यबाट डेन्सुका ग्राहकहरूले टिकटकका एआई आधारित क्रिएटिभ टुलहरूमा प्रत्यक्ष पहुँच पाउनेछन्। हाल इमेज-टु-भिडियो र क्याप्सन रिमुभल जस्ता सुविधा उपलब्ध रहेका छन् भने भविष्यमा डबिङ र डिजिटल एभटारसम्बन्धी थप फिचरहरू पनि समावेश गरिने कम्पनीले जनाएको छ।
एआईको बढ्दो प्रयोगसँगै टिकटकको यो नयाँ प्रणालीले विज्ञापन निर्माणलाई छिटो, सहज र कम खर्चिलो बनाउन सक्छ। विशेषगरी डिजिटल मार्केटिङ र अनलाइन विज्ञापन क्षेत्रमा काम गर्ने ब्रान्ड तथा व्यवसायका लागि यो प्रविधि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।