महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ । सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन उपत्यकाका विभिन्न ठाउँबाट ‘सांगीतिक डमी अभियान’ सुरु भएको हो ।
उपत्यकाका विभिन्न चोकमा राखिएको डमीमा ट्राफिक नियमसम्बन्धी विभिन्न गीतहरु बजाएर ट्राफिक नियमको बारेमा जानकारी दिइने छ । ट्राफिक नियमबारे नागरिकलाई सूचित गर्ने र नियमको पालना भए दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताउनुभयो ।
विश्वका अन्य देशहरुमा जस्तो विद्यालयमा शिक्षामा ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम नसमेटिएको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो पहलमा विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाइरहेको उहाँको भनाइ छ ।
ट्राफिक उज्यालो अभियान, जथाभाबी बाटो काट्नेलाई २० मिनेट कक्षा लिने अभियान, ठाउँ ठाउँमा सारङ्गी टोली घुमाउने र स्वयमसेवक समेत परिचालन गरी ट्राफिक नियमसम्बन्धी जनचेतना फलाउने काम भइरहेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको सुरु गरिएको छ ।
केही समयअघि जनचेतनामूलक सन्देश सहित ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी राखिएको थियो । त्यो अभियानले सकारात्मक सन्देश दिएको ट्राफिक प्रहरीको भनाई छ ।