काठमाडौँ । टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी पहिलोपटक एकसाथ फिल्ममा देखिने भएका छन्। उनीहरू आगामी नेपाली फिल्म ‘बेहुली’मा मुख्य भूमिकामा प्रस्तुत हुने भएका हुन्।
फिल्मको बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा धार्मिक विधिअनुसार पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। निर्माण टिमका अनुसार फिल्मको छायांकन यसै साताबाट सुरु गरिनेछ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस फिल्मको निर्देशन सशान कँडेलले गर्नेछन्। ‘होस्टेल ३’ निर्देशन गरिसकेका कँडेलको यो दोस्रो निर्देशकीय परियोजना हो। उनले यसअघि घोषणा गरेका ‘होस्टेल अगेन’ र ‘बाउ भर्सेस छोरा’लाई पछि सार्दै ‘बेहुली’लाई प्राथमिकता दिएका हुन्।
फिल्मका प्रस्तुतकर्ता संगीतकार तथा गायक अर्जुन पोखरेल हुन्, जो लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन्। यस फिल्ममार्फत उनले निर्माण क्षेत्रमा पनि पाइला टेक्दैछन्। फिल्मका गीतहरू पनि उनले नै तयार गर्नेछन्।
प्रताप राणा निर्माता रहेको फिल्ममा माधव शर्माले कथा तथा पटकथा लेखेका छन्। माधवले यसअघि ‘होस्टेल ३’को स्क्रिप्ट पनि लेखेका थिए।
फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक र समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय रहनेछ। विशेष रूपमा, सुशान्त कार्कीले पाँच वर्षपछि यही फिल्मबाट अभिनयमा पुनरागमन गर्न लागेका छन्।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा सुमन थिङ तामाङ कार्यकारी निर्माता छन् भने दुर्गा खरेल र रमेश सिलवाल सह(निर्माताको रूपमा रहेका छन्। शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। फिल्मको सम्पादन विकास दाहालले गर्नेछन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हाल्नेछन्। पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।
फिल्म ‘बेहुली’ आगामी वर्षको हरितालिका तीजको अवसर पारेर भदौ १२ गते प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।