काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म राम नाम सत्य को दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरिएको छ। यसअघि रिलिज भएको ‘धागोले बाटेको’ गीतले सामाजिक सञ्जाल र युट्युबमा उल्लेखनीय लोकप्रियता हासिल गरेपछि फिल्मप्रति दर्शकको चासो थप बढिरहेको छ।
नयाँ सार्वजनिक गीतमा मुख्य कलाकार विराज भट्ट र खुसी कार्की को आकर्षक नृत्य देख्न सकिन्छ। युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखिएको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ भने संगीत पनि एसडी योगीकै रहेको छ। गीतका शब्द मौसम अर्यालले लेखेका हुन्।
गीतको भिडियो सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार गरिएको हो भने छायांकन दैलेखमा गरिएको छ, जसले दृश्यात्मक रूपमा पनि दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कोरियोग्राफरबाट निर्देशक बनेका माइकल चन्द को निर्देशनमा तयार भएको फिल्ममा विराज र खुसीसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्वर्गीय सुनिल थापा र प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ। चर्चित टिकटकर आयुषले यसै फिल्मबाट अभिनय यात्रा सुरु गरेका हुन्।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता विमली लगानीकर्ता रहेका छन् भने कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत समावेश छ।
‘हुम्लाको लिमी’ गीत सार्वजनिक भएसँगै फिल्मको प्रचार अभियान थप सशक्त हुने अपेक्षा गरिएको छ।