काठमाडौँ । गायक तथा निर्माता रामकृष्ण ढकाल को निर्माणमा बनेको फिल्म ‘मालती मंगले’को पहिलो गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा निर्माण टिमले उक्त प्रेमिल गीत सार्वजनिक गरेको हो।
गीतमा रामकृष्ण ढकाल र रचना रिमाल को स्वर रहेको छ भने शब्द आनन्द अधिकारी र संगीत उज्जवल सागर ले दिएका छन्।
कथावाचन शैलीमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउत लाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरूबीचको प्रेम, समर्पण र भावनात्मक सम्बन्धलाई भिडियोमार्फत आकर्षक रूपमा देखाइएको छ। दुवै कलाकारको केमेस्ट्रीले दर्शकको ध्यान खिच्ने देखिन्छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता ढकालले राष्ट्रकवि माधवप्रसाद घिमिरे को गीति नाटक ‘मालती मंगले’मा फिल्म आधारित नभएको स्पष्ट पारे। उनका अनुसार फिल्म समसामयिक सामाजिक परिवेशमा आधारित प्रेमकथा हो, जसलाई सांगीतिक ढंगले प्रस्तुत गरिएको छ।
प्रकु पाण्डेय को निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही र रिजन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक पाण्डेय स्वयंको हो भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले लेखेका हुन्।
आगामी बैशाख २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ।