काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन सँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन फिजिसियन डा. रक्षा गौतमले बताउनुभयो ।
अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गर्नुभयो । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दशदिन भित्रमा मौसमी फ्लु निको हुने उहाँले बताउनुभयो ।
सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफुलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
मौसमी फ्लुका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उहाँले आग्रह गर्नुभयो ।