काठमाडौं । प्राचीन सहरका रूपमा परिचित भक्तपुरमा आगामी चैत ६ र ७ गते ‘भक्तपुर फिल्म महोत्सव’ आयोजना हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीहरूको पहलमा हुन लागेको महोत्सव कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आयोजना गरिनेछ।
महोत्सवमा नेपाली स्वतन्त्र फिल्मकर्मीका विभिन्न विधाका गरी २४ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ फिल्म प्रदर्शनबाट गरिनेछ।
महोत्सवको दोस्रो दिन सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरिने कार्यक्रम रहेको छ। यसका साथै नेवा संस्कृतिमा आधारित ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ लगायतका फिल्महरू पनि महोत्सवमा देखाइनेछन्। महोत्सवको समापन सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेविका’ प्रदर्शनसँगै गरिने आयोजकले जनाएको छ।
महोत्सव सुरु हुनु अघिल्लो दिन अर्थात् चैत ५ गते विशेष मास्टरक्लास कार्यक्रम पनि आयोजना गरिनेछ। उक्त कार्यक्रममा ‘११:५५’ फिल्मका निर्देशक केशव पाण्डेले कथा लेखनसम्बन्धी आफ्नो अनुभव सहभागीहरूसँग बाँड्नेछन्।
महोत्सव निर्देशक किरण किलम्बूका अनुसार महोत्सवमा प्रदर्शन गरिने फिल्म हेर्न र मास्टरक्लास कार्यक्रममा सहभागी हुन दर्शकलाई कुनै शुल्क लाग्ने छैन।
किरण किलम्बूसहित सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्की लगायतको समूहले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव संयोजक स्मित गिरीका अनुसार नेपाली स्वतन्त्र फिल्मकर्मीका सिर्जनालाई प्लेटफर्म उपलब्ध गराउने र दर्शकमा फिल्म साक्षरता बढाउने उद्देश्यले महोत्सव सुरु गर्न लागिएको हो।