काठमाडौं । दिवंगत अभिनेता सुनिल थापालाई ट्रिब्युट दिँदै फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलर तत्व समेटिएको उक्त फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो।
फिल्मको क्लाइमेक्स दृश्यको छायांकन भइरहेका बेला अभिनेता सुनिल थापाको हालै निधन भएको थियो। त्यसैले निर्माण पक्षले फिल्मलाई दिवंगत अभिनेताप्रति समर्पित गरेको जनाएको छ।
सार्वजनिक टिजरमा अभिनेता विराज भट्टलाई यसअघि नदेखिएको एक्सन अवतारमा प्रस्तुत गरिएको छ। फिल्मको निर्देशन माइकल चन्दले गरेका हुन्। फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार र खुशी कार्कीलगायतका कलाकारको अभिनय रहेको छ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन्। फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ। छायांकन मानकृष्ण महर्जनले गरेका छन् भने एक्सन कोरियोग्राफी श्री श्रेष्ठले गरेका छन्।
फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै लोकप्रिय भइसकेको छ। फिल्म ‘राम नाम सत्य’ आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।