काठमाडौं । अभिनेता तथा निर्देशक नीर शाहको आठौं निर्देशकीय फिल्म ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। मंगलबार ललितपुरको एक गाउँमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको छायांकन २३ दिनमै सकिएको हो।
लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम बम्जन)का अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण तीन दिन छायांकन प्रभावित भए पनि निर्धारित समयमै सम्पूर्ण काम सम्पन्न गरिएको हो।
बाल मनोविज्ञानमा आधारित यस फिल्ममा निर्देशक नीर शाहसहित रमेश बुढाथोकी, बासना तिमल्सेना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा र राजन केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको निर्माण विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले गरेकी हुन्। यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्।
फिल्मको कथा स्वर्गीय साहित्यकार विजय मल्लको हो भने पटकथा तथा संवाद प्रजल दुलाल, सुगम दुलाल र निर्देशक शाहले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुवेदीले गरेका हुन्।
यो फिल्म स्वर्गीय साहित्यकार विजय मल्लले सन् १९६९ मा प्रकाशित गरेको चर्चित नाट्यकृति ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित रहेको छ। प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव तथा अभिभावकको दायित्वको कथा यसमा समेटिएको निर्माण पक्षले जनाएको छ।
फिल्मलाई आगामी वर्ष प्रदर्शन गर्ने तयारी गरिएको छ।