काठमाडौं । रंगमञ्च र म्युजिक भिडियोबाट स्थापित कलाकार रोश्नी कार्कीले आफ्नो नयाँ फिल्म ‘लालिमा’मा चुनौतीपूर्ण र संवेदनशील भूमिका निर्वाह गरेकी छन्। फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा उनले पेसाले यौनकर्मी रहेकी ‘लालिमा’ पात्रको जीवन्त प्रस्तुति दिएकी हुन्।
करिब एक दर्जन नाटक तथा दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी रोश्नी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा पनि सक्रिय बन्दै गएकी छन्। यसअघि उनको अभिनय रहेको ‘श्री बुकुरो’ फागुन १ गते प्रदर्शनमा आएको थियो।
‘लालिमा’का लागि पात्र निर्माण प्रक्रिया आफ्ना लागि विशेष र चुनौतीपूर्ण अनुभव रहेको रोश्नी बताउँछिन्। पात्रलाई यथार्थपरक बनाउन उनले प्रत्यक्ष रूपमा १० जना यौनकर्मीसँग भेट गरी उनीहरूको अनुभव सुनेकी थिइन्। “मैले चिनेका कोही यौनकर्मी थिएनन्। तर, पात्रलाई बुझ्न र न्याय गर्न उहाँहरूसँग भेट्नै पर्ने भयो,” उनले भनिन्।
उनका अनुसार भेटिएका अधिकांश महिला कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्मका थिए। आर्थिक समस्याका कारण यो पेसामा आउन बाध्य भएको कथा सुन्दा आफू भावुक भएको उनी बताउँछिन्। “उहाँहरूले आफ्नो पीडा, बाध्यता र मानसिक अवस्था खुलेर सुनाउनुभयो। त्यसले पात्रमा डुब्न मलाई ठूलो सहयोग गर्यो,” रोश्नीले भनिन्।
फिल्ममा आफू यौनकर्मीहरूको सशक्त आवाजका रूपमा प्रस्तुत भएको उनको दाबी छ। “कलाकारका रूपमा मैले उहाँहरूको आवाज बन्ने प्रयास गरेकी छु। कम्तीमा उहाँहरूको वास्तविकता, संघर्ष र आत्मसम्मानको खोजीलाई पर्दामा उतार्ने प्रयास गरेको छु,” उनले भनिन्।
रोशन मिराजको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुष्मा निरौला, शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सबिन कट्टेललगायत कलाकारहरूको अभिनय रहेको छ। रीना लामाको कार्यकारी निर्माणमा फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको यो फिल्म करिब तीन हजार यौनकर्मी महिलाको अनुभवमा आधारित रहेको बताइएको छ।
सामाजिक यथार्थ र संवेदनशील विषयवस्तु समेटिएको ‘लालिमा’ले दर्शकमाझ गहिरो बहस र चेतना जगाउने अपेक्षा गरिएको छ।