काठमाडौं । पर्यटकीय नगरी इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार आयोजित कार्यक्रममा अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीले संयुक्त रूपमा रिवन काटेर हलको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा अहिले प्रदर्शनरत सुपरहिट फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तको पनि उपस्थिति रहेको थियो। सोही फिल्म प्रदर्शन गर्दै हलको औपचारिक सुरुवात गरिएको थियो।
इलामको पुरानो बसपार्कस्थित नगरपालिकाको पार्किङ भवनमा सञ्चालनमा आएको उक्त हलमा १८८ सिट क्षमताको एक मात्र स्क्रिन रहेको छ। करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हलमा आधुनिक टुके प्रोजेक्सन प्रणाली र डल्बी डिजिटल साउन्ड सिस्टम जडान गरिएको फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले जानकारी दिए।
उद्घाटनपछि अध्यक्ष धामीले मोफसलका दर्शकलाई राजधानीस्तरको सेवा दिने लक्ष्यसहित हल सञ्चालनमा ल्याइएको बताए। “अब इलामका दर्शकले फिल्म हेर्न झापा जानुपर्ने बाध्यता अन्त्य भएको छ,” उनले भने, “हामीले अत्याधुनिक प्रविधि, आरामदायी सिट र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौं।” साथै उनले फ्रेन्ड्स सिनेमाजको शाखा अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उल्लेख गरे।
त्यस्तै, फ्रेन्ड्स सिनेमाजका निर्देशक आशिस एच तामाङले पहाडी भेगका दर्शकको फिल्मसम्म पहुँच विस्तार गर्ने उद्देश्यले इलाममा हल स्थापना गरिएको बताए। नेपाली फिल्मको बजार विस्तारका लागि घरेलु बजार सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले प्रत्येक जिल्लामा हल स्थापना भएमा हालको अवस्थामा पनि बजार दोब्बरले वृद्धि हुन सक्ने धारणा व्यक्त गरे।
नयाँ हल सञ्चालनसँगै इलाममा फिल्मप्रेमी दर्शकका लागि आधुनिक सुविधा सम्पन्न प्रदर्शनस्थल थपिएको छ।