काठमाडौं । अभिनेता तथा निर्देशक नीर शाह एक दशकपछि पुनः फिल्म निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बन्ने ८ औं फिल्म ‘कमला मिस’ को शुभ मुहूर्त शुक्रबार बिहान ललितपुर, इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा सम्पन्न भयो र त्यहींबाट छायांकन सुरु गरिएको छ।
पछिल्लो पटक शाहले सन् २०१५ मा ‘सेतो बाघ’ निर्देशन गरेका थिए। ‘कमला मिस’ फिल्म चर्चित साहित्यकार विजय मल्लद्वारा लिखित नाट्य कृति ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित भएको छ। फिल्ममा शाहसहित बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ।
फिल्म बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गर्ने बताइएको छ। कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्। पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्। छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल र कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
सन् १९६९ मा प्रकाशित ‘कोही किन बर्बाद होस्’ नाटक प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथा समेटिएको थियो। यस नाटकलाई कुञ्ज थिएटर, सेन्ट जेभियर्स कलेज, बुढानिलकण्ठ स्कुल लगायतले मञ्चन गरिसकेका छन्, जसमा चर्चित रंगकर्मी सुनिल पोखरेलले समेत अभिनय गरेका थिए।