काठमाडौं । यही शुक्रबार (१ फागुन)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ले प्रिमियर शोमै प्रशंसा बटुलेको छ। मंगलबार ललितपुरस्थित एक हलमा आयोजित प्रिमियरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठदेखि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसम्मको उपस्थिति रहेको थियो। उपस्थित अधिकांशले फिल्मको समसामयिक राजनीतिक कथावस्तुको खुलेर प्रशंसा गरेका छन्।
फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मदनकृष्ण श्रेष्ठले ‘बिगुल’लाई जोशिलो र होसिलो फिल्मको संज्ञा दिए। उनले भने, “फिल्मले वर्तमान अवस्थाको चित्रण गरेको छ। जेनजी आन्दोलनलाई यो फिल्मले धेरै टेवा दिन्छ। अहिले जताततै देखिएको चुनावी माहोल फिल्ममा पनि देख्न पाइन्छ। समसामयिक विषय समेटिएकाले फिल्म हेर्दा मज्जा आउँछ।”
निर्देशक सवीर श्रेष्ठले फिल्मले जनतामा राजनीतिक चेतना जगाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “यो फिल्मले राजनीतिमा लागेकाहरूलाई पनि सचेत र जिम्मेवार बन्न प्रेरित गर्छ।” उनले कलाकार नरेन खड्का र बेनिशा हमालको अभिनय विशेष रूपमा प्रशंसनीय रहेको उल्लेख गरे। साथै, लेखन, छायांकन र निर्देशन पक्ष पनि सशक्त रहेको उनको भनाइ छ।
अभिनेता पुष्प खड्काले ‘बिगुल’ हेर्दा देशको वर्तमान परिस्थितिलाई नै पर्दामा हेरेको अनुभूति भएको बताए। “हरेक नागरिकमा राजनीतिक चेतना आवश्यक छ। राजनीतिमा लाग्ने व्यक्तिले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने स्पष्ट सन्देश फिल्मले दिएको छ। राजनीति बुझ्न चाहनेका लागि यो फिल्म बलियो दस्तावेज बन्न सक्छ,” उनले भने। फिल्ममा काम गरेको अनुभवबारे अभिनेत्री बेनिशा हमालले भनिन्, “राजनीतिक विषयवस्तुमा पहिलो पटक काम गरेको हुँ। देशको समसामयिक राजनीतिक अवस्थासँग कथा मिल्दोजुल्दो भएकाले यस्तो फिल्मको हिस्सा हुन पाउँदा निकै खुसी छु।”
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’मा बेनिशा हमाल, नीर शाह, रमेश बुढाथोकी, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल र मीरा पण्डितलगायतका कलाकारको अभिनय रहेको छ। कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन र तारा थापा (किम्भे)को सम्पादन रहेको छ।
‘बिगुल’ले राजनीतिक चेतना र समसामयिक बहसलाई केन्द्रमा राख्दै दर्शकमाझ नयाँ बहसको थालनी गर्ने अपेक्षा गरिएको छ।