काठमाडौं । ‘जात्रा’ समूहको बहुप्रतीक्षित फिल्म ‘लालीबजार’ आगामी बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। बुधबार टिजर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि फिल्मलाई फागुन १ गते रिलिज गर्ने तयारी थियो। तर, फागुन २१ गते हुने चुनावका कारण प्रदर्शन मिति पछाडि सारिएको निर्माता पक्षले जनाएको छ।
सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रहरूको भावनात्मक पृष्ठभूमि उजागर गरेको छ। बाध्यताले यौनकर्ममा लागेकी युवती र राजपरिवारका सदस्यबीचको सम्बन्धलाई केन्द्रमा राखिएको कथाले ‘नत्थी प्रथा’ जस्तो सामाजिक यथार्थलाई पनि समेटेको देखिन्छ। फिल्म बादी समुदायका महिलाको जीवन संघर्षमा आधारित रहेको संकेत टिजरले दिएको छ-जहाँ गरिबी, सामाजिक बहिष्कार र परम्परागत संरचनाले उनीहरूलाई यौन व्यवसायमा धकेलेको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिएकी छन्। उनको भूमिकालाई करिअरकै चुनौतीपूर्ण र फरक प्रस्तुति मानिएको छ। साथै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।
यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुशन प्रजापतीको छायांकन, निर्देशक थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन रहेको छ। संगीततर्फ प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ। कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन्।
सामाजिक यथार्थ र संवेदनशील विषयवस्तु समेटिएको ‘लालीबजार’ ले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दो छ।