काठमाडौं । प्रणय दिवसलाई लक्षित गर्दै गत शुक्रबार (२३ माघ)बाट प्रदर्शनमा आएको लभस्टोरी फिल्म ‘कुमारी’ ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसके पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । विशेषगरी युवापुस्ताले फिल्मलाई रुचाएका छन् ।
फिल्म हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् । प्रेमकथासँगै समाजको ‘डार्क साइड’ उजागर गरिएको भन्दै युवापुस्तालाई फिल्म हेर्न आग्रह गरिएको छ । शनिबार फिल्म हेरेकी एक युवतीले आफ्नो प्रतिक्रिया दिँदै भनिन्, ‘जब केटीले आफ्ना लागि अडान लिन थाल्छ, त्यो फिल्मको सबैभन्दा उत्कृष्ट पाटो हो । म युवापुस्तालाई यो फिल्म हेर्न आग्रह गर्छु । प्रेमसँगै समाजको वास्तविकता देखाइएको छ ।’
दर्शकहरूका अनुसार फिल्मले पीडामा रहेका महिलालाई सम्मान गर्नुपर्ने सन्देश पनि प्रभावकारी रूपमा दिएको छ । एक महिला दर्शकले सञ्चारमाध्यमसँगको कुराकानीमा भनिन्, ‘यस्ता विषयमा बनेका फिल्मले समाजलाई अझ शिक्षित बनाउँछ । कथावस्तु र कलाकारहरूको अभिनय दुवै प्रभावशाली छन् । यो सबैले हेर्नुपर्ने फिल्म हो ।’
फिल्मको प्रशंसा कन्टेन्ट क्रिएटरहरूले पनि गरेका छन् । एक महिला कन्टेन्ट क्रिएटरले ‘डोको बुन्ने’ गीत सुनेको आधारमा मात्र फिल्म हेर्न गएको बताउँदै आफू सकारात्मक रूपमा सरप्राइज भएको उल्लेख गरिन् । हिरोको लुक्सले आफूलाई बलिउड फिल्म ‘सैयारा’को झल्को दिएको बताउँदै फिल्म हेर्दा पटक–पटक ‘गुजबम्प्स’ आएको प्रतिक्रिया दिइन् । उनले विशेषगरी महिलाहरूलाई फिल्म हेर्न अनुरोध गरेकी छन् ।
दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माणमा बनेको ‘कुमारी’मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । दर्शकहरूले दुवै कलाकारको अभिनय मन पराएका छन् भने अभिषेकको लुक्सको विशेष चर्चा भइरहेको छ । फिल्ममा काकाको भूमिकामा देखिएका कलाकार मधु खड्का पनि दर्शकको ध्यान खिच्न सफल भएका छन् ।
व्यापारिक रूपमा संघर्षरत देखिए पनि ‘कुमारी’ ले सशक्त सन्देश, अभिनय र प्रस्तुतीका कारण दर्शकमाझ सकारात्मक छवि बनाइरहेको छ ।