काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ लाई निर्माण पक्षले एक सातामै हिट घोषणा गरेको छ। शुक्रबार फिल्मको एक साताको कमाइ सार्वजनिक गर्दै निर्माता तथा निर्देशक चन्द्र पन्तले सामाजिक सञ्जालमार्फत फिल्मको सफलता दाबी गरेका हुन्।
निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरअनुसार फिल्मले पहिलो सातामै ३ करोड १८ लाख रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख छ। सो पोस्टरमा ‘आ बाट आमा’ लाई अभिनेता पल शाहको पहिलो साता सबैभन्दा बढी कमाइ गर्ने फिल्म समेत भनिएको छ। तर चलचित्र विकास बोर्डको अघिल्ला बक्स अफिस तथ्यांक हेर्दा उक्त दाबी पूर्ण रूपमा मिल्दैन। यसअघि पल शाह अभिनीत फिल्म ‘शत्रु गते’ ले पहिलो सातामै करिब ४ करोड रुपैयाँ कमाइ गरेको थियो।
यसैबीच, ‘आ बाट आमा’ लाई हिट घोषणा गर्न निर्माण पक्षले हतार गरेको देखिएको फिल्म क्षेत्रका स्रोतहरू बताउँछन्। प्रचार-प्रसारसहित फिल्मको कुल बजेट करिब २ करोड रुपैयाँ रहेको बताइन्छ। लगानी सुरक्षित गर्दै हिटको ट्याग पाउन फिल्मले कम्तीमा २५ देखि ३० प्रतिशत नाफा कमाउनुपर्ने हुन्छ, जसअनुसार फिल्मले करिब साढे ६ करोड रुपैयाँ ग्रस कमाउनुपर्ने देखिन्छ। यस आधारमा फिल्मलाई हिट बन्न अझै करिब ३ करोड रुपैयाँ ग्रस कमाइ आवश्यक रहेको छ।
यद्यपि, फिल्मको पहिलो हप्ताको रफ्तार हेर्दा यसको व्यावसायिक सफलताको सम्भावना बलियो देखिएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै देशभरका हलमा दर्शकको राम्रो उपस्थिति देखिएको छ। ‘रुवाउने फिल्म’ को रूपमा गरिएको प्रचारले सबै उमेर समूहका दर्शकलाई हलसम्म तानेको निर्माण पक्षको दाबी छ।
आमा र छोराबीचको भावनात्मक सम्बन्धमा आधारित फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त र रचना गौतम लगायतको अभिनय रहेको छ। फिल्मका निर्माता कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन्।