काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो - द होम कलिङ’को पहिलो झलक सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच निर्माण पक्षले दिवंगत चलचित्र पत्रकार दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फिल्मको पहिलो दृश्य सार्वजनिक गरेको हो।
दिवंगत सिटौला यस फिल्मका मिडिया संयोजक थिए। कार्यक्रममा उनको स्मृतिमा समर्पित गर्दै उनी मन पराउने दृश्य समेटिएको झलक सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
झण्डै ६ मिनेटभन्दा लामो भिडियोमा परिवारभित्र देखिने विवाद, टकराव र भावनात्मक द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। गहिरो प्रेममा रहेका एक जोडीको विवाहका लागि परिवारले चिना हेर्दा अनुकूल नदेखिएपछि उत्पन्न हुने पारिवारिक तनाव र द्वन्द्व भिडियोमा देखिन्छ। यसले फिल्मको मुख्य कथावस्तु पारिवारिक अन्तरद्वन्द्व र त्रिकोणात्मक प्रेम वरिपरि केन्द्रित रहेको संकेत गर्छ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज आचार्य, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ र आशिका शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।
फिल्ममा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ। गीतहरूमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ।
निर्माण पक्षका अनुसार ‘श्री बुकुरो - द होम कलिङ’ले प्रेम, परिवार र संस्कारबीचको द्वन्द्वलाई भावनात्मक ढंगले प्रस्तुत गर्नेछ।