काठमाडौं । बलिउडको कीर्तिमानी एक्सन थ्रिलर फिल्म ‘धुरन्धर’को दोस्रो श्रृंखला ‘धुरन्धर स् द रिभेन्ज’को टिजर सार्वजनिक गरिएको छ। आदित्य धरको निर्देशनमा बनेको यो फिल्म आगामी १९ मार्चमा हिन्दी, मलयालम, तेलुगु, तमिल र कन्नड भाषामा एकसाथ रिलिज हुँदैछ।
मंगलबार सार्वजनिक भएको एक्सनप्रधान टिजरले पहिलो भागकै कथालाई निरन्तरता दिँदै पाकिस्तानी ग्याङस्टरसँगको बदलाको कथालाई केन्द्रमा राखेको संकेत गर्छ। अभिनेता रणवीर सिंह दुई फरक गेटअपमा भारतीय जासूसको रूपमा प्रस्तुत भएका छन्। पाकिस्तान पुगेपछि उनले सामना गर्ने जोखिम, चुनौती र बदलाको भावनालाई टिजरले उजागर गर्छ।
यद्यपि, टिजरका धेरै दृश्य पहिलो भाग ‘धुरन्धर’बाटै प्रयोग गरिएको भन्दै दर्शकले नयाँपन नपाएको प्रतिक्रिया दिएका छन्। यही कारण सामाजिक सञ्जालमा टिजरको आलोचना समेत भइरहेको छ।
बक्स अफिसमा भने ‘धुरन्धर २’लाई कन्नड सुपरस्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिक’सँग प्रत्यक्ष भिडन्तको चुनौती छ। ‘टक्सिक’को टिजर सार्वजनिक भएसँगै विश्वव्यापी चर्चा चुलिएपछि ‘धुरन्धर २’को रिलिज मिति सर्न सक्ने अनुमान गरिएको थियो। तर, निर्माताले ठूलो जोखिम मोलेर एउटै मितिमा प्रदर्शन गर्ने निर्णय गरेका छन्।
पहिलो भाग ‘धुरन्धर’ हाल पनि भारतसहित नेपालका हलमा प्रदर्शनरत छ। नेपालमा साढे १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको फिल्मले भारतमा करिब ९ सय करोड रुपैयाँ नेट कलेक्सन गरेको थियो। यसै विशाल सफलताका कारण ‘धुरन्धर २’ले अघिल्लो भागको कीर्तिमान तोड्न सक्छ कि सक्दैन भन्ने विषय अहिले दर्शकबीच चासोको केन्द्र बनेको छ।