एजेन्सी । बलिउड निर्देशक रोहित शेट्टीको चर्चित कमेडी फ्रेन्चाइज ‘गोलमाल’ आफ्नो पाँचौँ संस्करणसहित पुनः दर्शकमाझ आउने भएको छ। ‘गोलमाल ५’ मा यसपटक ठूलो सरप्राइज जोडिएको छ, जहाँ अभिनेता अक्षय कुमार खलनायकको भूमिकामा प्रस्तुत हुने भएका छन्।
फ्रेन्चाइजका स्थायी अनुहार अजय देवगन फेरि पनि प्रमुख पात्रका रूपमा फर्किंदैछन्। उनीसँगै अरशद वारसी, तुषार कपूर, कुणाल खेमु र श्रेयस तलपडे पनि पुनः देखिने निश्चित भएको छ। साथै जोनी लिभर, सञ्जय मिश्र, मुकेश तिवारी र अश्विनी कलसेकरजस्ता अनुभवी कलाकारहरू पनि कलाकार सूचीमा समावेश छन्। शर्मन जोशीको पुनरागमनको सम्भावना कायमै रहेको छ भने करिना कपूर खानको सहभागिताबारे भने अहिलेसम्म अन्तिम निर्णय भएको छैन।
‘गोलमाल ५’ मा अक्षय कुमारलाई खलनायकको भूमिकामा प्रस्तुत गर्नु यस फ्रेन्चाइजका लागि ठूलो परिवर्तनका रूपमा हेरिएको छ। यसअघि ‘गोलमाल’ शृंखलाले मुख्यतः हल्का-फुल्का कमेडीमै ध्यान केन्द्रित गर्दै आएको थियो।
भेराइटी इन्डियाको रिपोर्टअनुसार यसपटक फिल्ममा परम्परागत हास्यसँगै केही फ्यान्टेसी एलिमेन्ट्स पनि समावेश गरिनेछ। फिल्मको छायांकन फेब्रुअरीको अन्त्यतिर मुम्बईको फिल्म सिटीमा सुरु हुने तयारी छ। निर्माण पक्षले फिल्मलाई सन् २०२७ को सुरुवातमा रिलिज गर्ने लक्ष्य राखेको छ।
यो पाँचौँ भाग ‘गोलमाल’ फ्रेन्चाइजको २० वर्ष पूरा भएको अवसरमा पनि विशेष मानिएको छ। सन् २००६ मा रिलिज भएको पहिलो ‘गोलमाल’ फिल्मपछि यो शृंखलाले लगातार व्यावसायिक सफलता हासिल गर्दै आएको छ।
यसअघि अक्षय कुमार र अजय देवगन ‘सुहाग’, ‘खाकी’, ‘इंसान’, ‘सूर्यवंशी’ र ‘सिंघम अगेन’ जस्ता फिल्महरूमा सँगै देखिइसकेका छन्। तर ‘गोलमाल ५’ मा उनीहरू आमनेसामने देखिनु दर्शकका लागि नयाँ र रोमाञ्चक अनुभव हुने अपेक्षा गरिएको छ।