काठमाडौं । निधि दत्ता निर्माता तथा अनुराग सिंह निर्देशित बहुप्रतीक्षित फिल्म ‘बोर्डर २’ शुक्रबारदेखि भारतसहित विभिन्न देशमा रिलिज भएको छ। सन्नी देओल, वरुण धवन, दिलजीत दोसाँझ र अहान शेट्टी मुख्य भूमिकामा रहेको यस फिल्मले रिलिजसँगै दर्शकको ध्यान तानेको छ। तर, फिल्मलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा भने विवाद देखिएको छ। खाडी क्षेत्रका ६ मुलुक-बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा ‘बोर्डर २’ प्रदर्शनमा आउन सकेन।
बलिउड हंगामाका अनुसार, पाकिस्तानसँग जोडिएको संवेदनशील कथावस्तुका कारण ती देशमा फिल्मको प्रदर्शन रोकिएको हो। ‘बोर्डर २’ को कथा सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा आधारित छ, जसमा पाकिस्तानविरोधी सन्देश रहेको ठहर गरिएको बताइएको छ। ती मुलुकहरूले फिल्मलाई औपचारिक रूपमा प्रतिबन्ध नलगाए पनि, हल सञ्चालकहरूले विवादित राजनीतिक विषयवस्तु भएका फिल्म प्रदर्शन गर्नबाट जोगिने गरेका छन्। यसअघि पनि यस्तै कारणले फिल्म ‘धुरन्धर’ खाडी देशहरूमा रिलिज हुन सकेको थिएन।
यद्यपि, खाडी मुलुकमा प्रदर्शन नहुँदा पनि ‘बोर्डर २’ ले व्यावसायिक रूपमा बलियो सुरुआत गरेको छ। फिल्मले रिलिज हुनुअघि नै एडभान्स बुकिङबाट १२.५ करोड भारतीय रुपैयाँ कमाइसकेको छ। करिब २७५ करोड रुपैयाँ लागतमा बनेको यस फिल्मका लागि सन्नी देओलले ५० करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ।
सन् १९९७ मा आएको ‘बोर्डर’ को पहिलो भागको रनटाइम २ घण्टा ५६ मिनेट रहेको थियो भने, ‘बोर्डर २’ को अवधि ३ घण्टा १६ मिनेट छ। सामाजिक सञ्जालमा दर्शकले सन्नी देओलको दमदार अवतारको प्रशंसा गरिरहेका छन्।