काठमाडौं । वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर शुक्रबारबाट नेपाली फिल्म ‘परिवर्तन’ देशभरका हलमा प्रदर्शनमा आएको छ। करिब १५० शोसहित रिलिज भएको फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलेको छ, जसले यसको व्यापारिक भविष्य सकारात्मक हुन सक्ने संकेत दिएको छ। यद्यपि, एकै समयमा प्रदर्शनमा आएको भारतीय फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा कडा प्रतिस्पर्धा दिने अनुमान गरिएको छ।
एक्सन-लभस्टोरी जनरामा निर्माण भएको ‘परिवर्तन’ अभिनेता सुशील श्रेष्ठको करिअरकै लागि निर्णायक फिल्म मानिएको छ। विगत आठ वर्षदेखि कुनै पनि व्यावसायिक रूपमा सफल फिल्म दिन नसकेका सुशीलका लागि यो फिल्म स्टारडम जोगाउने वा गुमाउने परीक्षाका रूपमा हेरिएको छ। फिल्ममा उनी फरक एक्सन अवतारमा प्रस्तुत भएका छन्। विजय केरुङको निर्देशनमा बनेको यस फिल्ममा सुशीलसँगै करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट र आशा पौडेल लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। कथा स्वयं निर्माता सिवाकोटीको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। दक्षिण भारतीय फिल्म उद्योगमा साउन्ड डिपार्टमेन्टमा अनुभव बटुलेकी एम। गीता गुरप्पा यस फिल्मकी साउन्ड डिजाइनर हुन्। यसका साथै, शिव ढकालको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र एसडी योगीको संगीत रहेको छ।
फिल्म ‘परिवर्तन’ ले युवापुस्ताको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सामाजिक सुधारको चाहनालाई कथाको केन्द्रमा राखेको छ। अब दर्शकको प्रतिक्रियाले यो फिल्म सुशील श्रेष्ठको करिअरमा परिवर्तन ल्याउने कि नल्याउने भन्ने टुंगो लगाउनेछ।