काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी नाइट विथ च्याम्पियन्स का पाँच चर्चित कमेडियन कलाकार अमेरिका कमेडी टूरका लागि उडेका छन्। मंगलबार बेलुका फ्लाई दुबईको विमानमार्फत उनीहरू अमेरिका प्रस्थान गरेका हुन्।
फेम नेपाल र सनराइज इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको ‘हाँस्छ अमेरिका भोल्यूम-१’ कमेडी टूर फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ। टूरअन्तर्गत अमेरिकाका १४ सहरमा कमेडी शो प्रस्तुत गरिनेछ। टूरमा भरतमणी पौड्याल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल र कैलाश कार्की सहभागी छन्। अमेरिका जानुअघि कलाकार भरतमणी पौड्यालले भने, “अमेरिकी दर्शकलाई प्रत्यक्ष हँसाउन पाउनु हाम्रो लागि उत्साहजनक अवसर हो।”
आयोजक फेम नेपालका प्रमुख विमल पछाईका अनुसार टेक्सास, भर्जिनिया, न्यूयोर्क, बाल्टिमोर, सान फ्रान्सिस्को, पेन्सिलभेनिया, बोस्टन लगायतका सहरमा कार्यक्रम आयोजना हुनेछ। “व्यस्त दैनिकीमा कमेडी साधना र मनोरञ्जन दुवै हो,” उनले भने, “कार्यक्रमलाई विशुद्ध पारिवारिक शोका रूपमा प्रस्तुत गरिनेछ।”
नेपाली डायस्पोरालाई लक्षित गर्दै आयोजना गरिएको यो टूरले अमेरिका बसोबास गर्ने नेपाली दर्शकमाझ नेपाली हास्यकलाको स्वाद फैलाउने अपेक्षा गरिएको छ।