काठमाडौँ । टिकटकबाट लोकप्रियता कमाएका अनुहारहरू नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्ने क्रम तीव्र भइरहेका बेला टिकटक स्टार स्मारिका ढकालको फिल्मी यात्रा भने निराशाजनक बनेको छ। यस वर्ष फिल्ममा डेब्यु गरेकी स्मारिकाको पहिलो फिल्म ‘मुगलान’ बक्स अफिसमा पूर्ण रूपमा असफल भएको छ।
पुष १० गते प्रदर्शनमा आएको ‘मुगलान’ २० वर्षअघि बनेको चर्चित फिल्मको नाम सापटी लिएर निर्माण गरिएको थियो। तर, नामको चर्चासँगै स्मारिकाको टिकटक लोकप्रियताले पनि हलमा दर्शक तान्ने अपेक्षा गरिएको भए तापनि फिल्मले त्यो भरोसा पूरा गर्न सकेन।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्मले जम्मा २ हजार ४ सय टिकट बिक्री गर्दै ६ लाख ३१ हजार रुपैयाँ ग्रस व्यापार मात्र गरेको छ। वितरक कमिसन, भ्याट र स्थानीय कर कटौतीपछि निर्माताको हातमा २ लाख रुपैयाँ पनि नपुग्ने देखिएको छ। करिब डेढ करोड रुपैयाँभन्दा बढी लगानी भएको यो फिल्म यस वर्षकै ठूलो ‘डिजास्टर’मध्ये एक बनेको छ।
फिल्म रिलिजको समयमा स्मारिकाको टिकटक क्रेज हलमा देखिने अनुमान गरिएको थियो। तर, उनका लाखौँ फलोअर्स फिल्म हेर्न हलसम्म पुगेनन्। साथै, फिल्ममा उनको अभिनयले पनि दर्शक र समीक्षकको मन जित्न सकेन।
यसरी हेर्दा ‘मुगलान’ स्मारिकाका लागि फिल्मी करिअरको सफल सुरुवातभन्दा पनि हिरोइन बन्ने सपना पूरा गर्ने माध्यममा सीमित बनेको देखिन्छ। यद्यपि फिल्म फ्लप भए पनि स्मारिकाको टिकटक लोकप्रियता भने यथावत् छ। उनका भिडियोहरूले निरन्तर लाखौँ भ्यूज बटुलिरहेका छन्, जसले उनी डिजिटल प्लेटफर्ममा अझै बलियो उपस्थिति कायम राखेको संकेत गर्छ।
यो घटनाले टिकटकको लोकप्रियता सिधै फिल्मको व्यावसायिक सफलतामा रूपान्तरण नहुने यथार्थलाई फेरि एकपटक पुष्टि गरेको छ।