काठमाडौं । नेपाली अभिनेत्री वर्षा राउतले भारतीय फिल्म उद्योगमा आफ्नो उपस्थितिलाई औपचारिक रूप दिने भएकी छन्। उनले हिन्दी फिल्म ‘रिमझिम गिरे सावन’ मार्फत बलिउड डेब्यू गर्न लागेकी हुन्। निर्माण पक्षसँग यसै साता मुख्य भूमिकाका लागि कागजी सम्झौता भइसकेको छ।
फिल्मका निर्देशकसहितको टोली भारतबाट काठमाडौं आएर वर्षासँग सम्झौता गरेको जनाइएको छ। फिल्ममा अनुबन्ध भएपछि वर्षाले यसलाई आफ्नो करियरको नयाँ र चुनौतीपूर्ण अध्यायका रूपमा लिएको बताएकी छन्। उनले भनिन्,“यो भूमिका मैले खोजिरहेको जस्तै छ, जसले मेरो अभिनय क्षमतालाई परीक्षण गर्छ। कठिन भूगोलमा छायांकन चुनौतीपूर्ण भए पनि सिकाइको ठूलो अवसर हुनेछ। बलिउडको टिमसँग काम गर्न पाउनु गर्वको विषय हो।”
दुर्गम पहाडी परिवेशमा आधारित रहने फिल्मको छायांकन सिक्किमको लाचुङ गाउँमा गरिने तयारी छ। नेपाली समुदायको पृष्ठभूमिमा आधारित कथाले मृत्युदण्डको सजाय भोगिरहेकी एक आमाको सङ्घर्षलाई केन्द्रमा राख्नेछ। उक्त पात्र रिमझिम क्षेत्रीको भूमिकामा वर्षा राउत देखिनेछिन् र फिल्मको कथा उनी वरिपरि नै घुम्नेछ।
फिल्ममा बलिउडका चर्चित अभिनेता आशिष विद्यार्थी, यशपाल शर्मा, सुब्रत दत्त, राजेश शर्मा तथा कोलकाताकी अभिनेत्री सुस्मिता बसुमताको अभिनय रहने पक्का भइसकेको छ। साथै, ‘सावन’ पात्रका लागि एक नाम चलेका अभिनेता अनुबन्ध गर्ने तयारी निर्माण पक्षले गरिरहेको छ।
बङ्गाली निर्देशक अर्नब पलले फिल्मको निर्देशन गर्नेछन्। यसअघि उनले ‘तान्त्रिक’ र ‘मेघमल्लार’ जस्ता फरक स्वादका फिल्म निर्देशन गरिसकेका छन्। निर्देशक पलका अनुसार, ‘रिमझिम गिरे सावन’ ले प्रणालीगत भ्रष्टाचार, न्याय र आत्मसम्मानका लागि एक महिलाले गर्ने साहसिक तथा भावनात्मक सङ्घर्षलाई पर्दामा उतार्नेछ।
फिल्मको कथा तथा पटकथा वरिष्ठ लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन्। छायांकन निर्देशकमा असिम बोस, सम्पादकमा अर्घ्य कमल मित्र र कला निर्देशकमा अतनु साहा रहनेछन्। नाङ एनी गोगोई लाइन प्रोड्युसर तथा कस्ट्युम डिजाइनरको भूमिकामा छन् भने नेपालबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजरका रूपमा संलग्न छन् ।