काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ चलचित्रको भावनात्मक झलक प्रस्तुत गरेको हो।
ट्रेलरले बुवा र छोरीबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अभावमा हुर्किएकी छोरी र उसलाई माया, संरक्षण र जिम्मेवारीका साथ हुर्काउने बुवाको संघर्ष ट्रेलरमा मार्मिक ढंगले देखाइएको छ। कथाले आमाको अनुपस्थितिले छोरीको जीवनमा पारेको असर र आमाको महत्त्वलाई भावनात्मक रूपमा उजागर गर्छ।
यसका साथै ट्रेलरमा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूतबीचको त्रिकोणात्मक प्रेम कथाको संकेत पनि पाइन्छ। शाइसा गौचनसहित अन्य कलाकारहरूको अभिनयले कथालाई थप जीवन्त बनाएको देखिन्छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। यार्सा फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह-निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन्।
भावनात्मक कथा, बलियो अभिनय र सम्बन्धको संवेदनशील चित्रणका कारण ‘मिरमिरे’ यस वर्षको प्रतीक्षित नेपाली चलचित्रमध्ये एक बनेको छ।