काठमाडौँ । नेपाली चलचित्र क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउन चलचित्र विकास बोर्डले १५ वटा विभागीय समिति गठन गरेको छ । ती समितिका संयोजक तथा सदस्यहरूलाई शुक्रबार आयोजित एक औपचारिक समारोहमा परिचयपत्र प्रदान गरिएको छ ।
बोर्ड अध्यक्ष दिनेश डीसीले समितिका सदस्यहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै चलचित्र उद्योगको दिगो विकासमा समितिहरूको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे । उनका अनुसार चलचित्रकर्मी नै नेपाली चलचित्र उद्योगको आधारस्तम्भ भएकाले उनीहरूको सिर्जनशीलता, श्रम र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नु बोर्डको मुख्य दायित्व हो ।
गठन गरिएका समितिहरूमा छात्रवृत्ति छनोट सिफारिस समिति, बक्सअफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति लगायत रहेका छन् । यसैगरी, कथा संग्रहालय (स्टोरी बैंक) मूल्याङ्कन तथा छनोट, मोफसलका चलचित्र मूल्याङ्कन, चलचित्रघर स्तरोन्नति तथा प्रोत्साहन, प्रकाशन तथा प्रचारप्रसार, चलचित्र डिजिटाइजेसन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन, छायाङ्कन अवधिको बीमा कार्यक्रम सञ्चालन तथा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति पनि सक्रिय बनाइएका छन् ।
परिचयपत्र वितरणपछि बोल्दै अध्यक्ष डीसीले समितिहरू प्रभावकारी रूपमा सञ्चालन भए चलचित्रकर्मीले अवसर, सुरक्षा र सम्मान एकसाथ अनुभव गर्ने वातावरण तयार हुने बताए । उनले संस्थागत सुदृढीकरण र चलचित्र क्षेत्रको समग्र उन्नतिका लागि सबै समितिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोर्ड सदस्यहरू, समितिका संयोजक तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बोर्डले परिचयपत्र वितरणसँगै समितिहरू औपचारिक रूपमा क्रियाशील भई नीति निर्माण, प्रवर्द्धन, संरक्षण तथा चलचित्रकर्मी कल्याणसम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ ।